कानूनी दायरामा नआउने स्वास्थ्य संस्था बन्द गर्ने: मेयर बालेन

  Sampatti News Online

May 31, 2023

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विपन्न एवं लक्षित वर्गलाई कानून बमोजिम दिनुपर्ने सुविधा उपलब्ध नगराउने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही स्वास्थ्य संस्थाले प्रचलित स्वास्थ्य सम्बन्धी कानुनअनुसार लक्षित वर्गलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याइ निशुल्क उपचार गर्नुपर्नेमा सो नपाइएको उल्लेख गरेका छन् । उनले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने विभिन्न ६८ स्वास्थ्य संस्थाहरूलाई कारवाहीका लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएको समेत बताएका छन् ।

मेयर शाहले भने, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार यदि मन्त्रीज्युले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं ।’

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा काठमाडौँ महानगरपालिकाले यही जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

मेयर शाहले भनेका छन्, ‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ। महानगरपालिकाले सुविधा उपलब्ध गराउने सम्बन्धमा यही जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो

प्रकाशित मिति:May 31, 2023