विश्व बैंकले विद्यालय सुधार्न सरकारलाई १३९.७ मिलियन डलर दिने

  Sampatti News Online

May 31, 2023

काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि १२० मिलियन अमेरिकी डलर सहुलियत ऋण र १९.७ मिलियन अनुदान प्रदान गर्ने सम्बन्धी बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव अर्जुन प्रसाद पोखरेल र विश्व बैंका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकका कन्ट्री डाइरेक्टर फेरिस हडाड जर्भोजले हस्ताक्षर गर्नुभएको छ । इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनबाट सहुलियत ऋण र ग्लोबल पार्टनरशिप फर एजुकेसनबाट अनुदान दिइने भएको हो ।
कार्यक्रम अन्तर्गत विद्यालय तहका तल्ला कक्षामा आधारभूत सीप सुधारका लागि राष्ट्रिय एकीकृत पाठ्यक्रम कार्यन्वयन गरिने विश्व बैंकले जनाएको छ। कोभिड – १९ महामारी तथा अन्य प्रकोपका कारण विद्यालय बन्द भई सिकाई भएको क्षतिलाई पूर्ति गर्न कार्यक्रमले सहयोग गर्ने बताइएको छ । पूर्व बाल्यावस्था शिक्षा विकास केन्द्रका कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापको सुदृढीकरण, हरित र टिकाउ कक्षाकोठा निर्माण, योग्य शिक्षक, बालमैत्री धारा,चर्पी तथा बस्ने व्यवस्था र डिजिटल शिक्षण–सिकाईलाई प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
साे अवसरमा बोल्दै विश्व बैंकका कन्ट्री डाइरेक्टर जर्भोसले विद्यालय क्षेत्र सुधार कार्यक्रमले शिक्षामा गुणस्तरीय र समतामूलक पहुँचमा लगानी गरी नेपाल सरकारको हरित, टिकाउ र समावेशी विकास एजेण्डालाई सघाउ पुर्‍याई मानव पूँजी विकास तथा समावेशी र दीगो विकासमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अर्थसचिव पोखरेलले शिक्षामा समतामूलक पहुँच र गुणस्तर अभिवृद्धिका लागि कार्यक्रम कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । (माधव अधिकारीबाट)

प्रकाशित मिति:May 31, 2023