मोहनविक्रम सिंहलाई हृदयचन्द्र स्मृति सम्मान’ र अभि सुवेदीलाई ‘व्यथित साहित्य सम्मान’

  Sampatti News

June 10, 2023

काठमाडौँ । साहित्य सदन, नेपालले यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’बाट प्रगतिवादी साहित्यकार तथा सौन्दर्यचिन्तक मोहनविक्रम सिंहलाई सम्मान गरेको छ ।रु. २५ हजार नगदसहित सम्मानपत्रले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति वैरागी काइँलाले उनलाई सम्मान गरेका हुन्।नेपाली साहित्यमा सिंह समाजवादी यथार्थवादी धाराका सशक्त स्रष्टाका रूपमा स्थापित छन्।साहित्य लेखन यात्रामा झन्डै सात दशक बिताइसकेका ८८ वर्षीय सिंहका सिर्जना र समालोचना गरी दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।अनुुवादका क्षेत्रमा पनि उनले कलम चलाएका छन्।राणाविरोधी सङ्घर्षदेखि निरन्तर राजनीतिक सङ्घर्षमा होमिएका सिंह राजनीति, राजनीतिक अर्थशास्त्र र समाजशास्त्र सम्बद्ध थुप्रै कृतिका लेखक तथा साम्यवादी आस्थाका अविचल नेतासमेत हुन्।

यसैगरी ‘व्यथित साहित्य सम्मान’बाट नाटककार, समालोचक तथा कवि अभि सुवेदीलाई सम्मानित गरिएको छ ।पुरस्कारको राशि रु २० हजार नगद र सम्मानपत्र रहेको साहित्य सदनका सचिव वसन्त रिजालले जानकारी दिए।सुवेदी नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, नाटककार, अनुवादक तथा कवि हुन्।छ दशकको साहित्य यात्रा पार गरेका उनको स्रष्टा व्यक्तित्व, नाटककार, कवि र निबन्धकारमा विस्तारित छ ।द्रष्टा व्यक्तित्व, समालोचक र साहित्यिक चिन्तकका रूपमा उनी स्थापित छन्। उनका करिब दुई दर्जन साहित्यिक कृति प्रकाशित छन् ।सुवेदी राजनीतिबाट पर बस्न रुचाउने उन्मुक्त चरित्रका साहित्यकार हुन्।कार्यक्रममा साहित्यका रामप्रसाद ज्ञवालीले हृदयचन्द्र सिंह प्रधान र केदारमान व्यथितको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए।जनमत साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवालले सम्मानित व्यक्तित्व सिंह र सुवेदी नेपाली साहित्य क्षेत्रमा गरेको योगदानका बारेमा चर्चा गरेका थिए।

साहित्य सदन नेपालले एक दशकअघिदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म यो पुरस्कारबाट एक दर्जनभन्दा बढी साहित्यकार सम्मानित भइसक्नुभएको छ । कार्यक्रममा साहित्य सदनका कार्यवाहक अध्यक्ष हेमनाथ पौडेलले रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए। (रासस)

प्रकाशित मिति:June 10, 2023