कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  Sampatti News

July 23, 2023

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ । न्यायाधीशद्ध कुमार रेग्मी र नहकुल सुवेदीको इजलासको ९ नम्बरको (घ) मा पेशी तोकिएको हो । मुख्यमन्त्री थापा माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको पनि समर्थनमा असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखले आफ्नो क्षेत्राधिकार बाहिर गएर गठबन्धन टिकाउन भूमिका खेलेको भन्दै असार २२ गते एमाले संसदीय दलका तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकार गठनमा प्रश्न उठाउँदै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश माग गर्दै रिट दायर गरेका थिए । कार्कीले दायर गरेको रिटमा गत असार २७ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिँदै साउन ३ गते भित्र मुख्यमन्त्री उद्धव थापा, प्रदेश सभामुख बाबुराम गौतम र प्रदेश प्रमुख पर्शुराम खापुङलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । इजलासले यही साउन ३ गते भित्र मुख्यमन्त्री नियुक्तिका कागजात झिकाउन आदेश दिँदै साउन ७ गतेबाट निरन्तर सुनुवाइ हुने आदेश गरेको थियो । सर्वोच्चको आदेशपछि मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमले लिखित जवाफ पेश गरिसकेका छन् । आज आदेश आउनसक्ने बुझिएको छ ।

प्रकाशित मिति:July 23, 2023