कोशीमा नयाँ सरकार बनाउन काठमाडौंमा कसरत

  Sampatti News

July 30, 2023

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि संघीय राजधानी काठमाडौँमा दलहरूले कसरत गरिरहेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सर्वोच्च अदालतको आदेश बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलहरू बालुवाटार केन्द्रित छलफलमा जुटेका छन् । प्रदेश प्रमुख खापुङले साउन १६ गते अपराह्न ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । कोशीमा नयाँ सरकार नयाँ गठनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिनुपर्ने कांग्रेसको मत छ । सभामुखबाहेक गठबन्धनको बहुमत पुग्दैन । अघिल्लो पटक सभामुखकै हस्ताक्षर प्रयोग कोशीमा कांग्रेसले सरकार बनाएको थियो । तर, सर्वोच्चले सभामुखको समर्थन असंवैधानिक ठहर गरिदिएपछि सरकार ढलेको हो । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराउनेबारे छलफल भएको स्रोतको दाबी छ । कांग्रेसले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सभामुखको राजीनामा गराउन दबाब दिएको स्रोतले बताएको छ ।
सभामुखलाई राजीनामा गराएर माओवादीले सहयोग गर्नु पर्ने कांग्रेस नेताहरूको भनाइ छ । यसअघि नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा र कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सभापति देउवासँगको छलफलमा सभामुखले राजीनामा गराएर सरकार बनाउने सकिने विकल्प दिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई सभामुख गौतमलाई राजीनामा गराउन भन्दै उनीहरू देउवा निवासमा पुगेको कांग्रेस नेताहरूले बताएका छन् । गठबन्धनलाई बहुमत पुर्‍याउन दलका शीर्ष नेताहरूले सभामुखलाई राजीनामा दिन लगाउने तयारी गरेका छन् । सभामुख गौतमले भने राजीनामा नदिने बताउँदै आएका छन् । आफ्नो राजीनामाले पनि अहिलेको संकटलाई निकास दिने सम्भावना नरहेको उनको तर्क छ । सत्ता गठबन्धन भित्रकै सासदहरूले पनि सभामुखको राजीनामा निकास नभएको बताउँदै आएका छन् । ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले पनि राजीनामा दिनुहोला,ु माओवादी कोशी प्रदेश कमिटीका सचिवसमेत रहेका प्रदेश सभा सदस्य गणेश उप्रेतीले भने, ‘त्यसपछि गठबन्धनकै ज्येष्ठ सदस्य हुनुहुन्छ । अनि अब बन्ने सरकारको आयु पनि ३० दिनकै हुन्छ । ’ कांग्रेसकै सांसदले पनि सभामुखको राजीनामा विकल्प नभएको बताउने गरेका छन् । राप्रपालाई सरकारमा सहभागी गराउनु पर्ने कांग्रेस सांसद केदार कार्की बताउँछन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापा र राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाबीच सम्बन्ध राम्रो छैन । सिटौला कांग्रेस छाडेर राप्रपामा आएका हुन ।

थापा ,सिटौला सम्बन्ध बिग्रिएकाले संसदीय दलको नेता फेरेर भए पनि राप्रपालाई सरकारका ल्याउनु पर्ने कार्कीले बताए । कांग्रेसकै नेतृत्वमा कोशीमा सरकार बनाउने भए संसदीय दलको नेता फेर्नु पर्छ कार्कीले भने, अहिलेको अवस्थामा कोशीमा स्थायी सरकार बनाउने अन्तिम विकल्प राप्रपा हो ।

केहीगरी १६८(२) बमोजिम सरकार बने पनि विश्वासको मत पाउने सम्भावना कम छ । त्यसपछि संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा एमालेले फेरि सरकार बनाउन सक्छ ।

त्यो सरकारले विश्वासको मत नपाए उपधारा ५ अनुसार बहुमत जुटाउन सक्ने व्यक्तिले सरकार बनाउने बाटोतिर प्रदेश जाने सम्भावना हुनेछ । १६८(५)अनुसार सांसदहरूलाई दलीय ह्विप लाग्ने छैन भने जुनसुकै सांसदले पनि बहुमत देखाएर सरकारको नेतृत्व गर्न सक्छ । तर, त्यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत पाउन विफल बनेको अवस्थामा भने प्रदेश मध्यावधिमा जानेछ ।

अहिले सत्ता गठबनधन र एमाले नेतृत्वको गठबनधनमा समान ४६–४६ सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कांग्रेससँग २९, माओवादीसँग १२ (सभामुखबाहेक), एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ गरी गठबन्धनसँग ४६ मत छ । यता एमालेसँग पनि आफ्ना ४० र राप्रपाका ६ गरी ४६ मत छ ।

प्रकाशित मिति:July 30, 2023