एमालेले आज पनि संसद् अवरोध कायमै राख्ने

  Sampatti News

July 31, 2023

काठमाडौं । एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध जारी राख्ने भएको छ । साउन १० गते बसेको प्रतिनिधिसभा बैठक एमालेकै अवरोधका कारण रोकिएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

एमालेले एक क्विन्टल सुन बरामद काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । संसदको अवरोध खुलाउन सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो । तर बैठक संसद् खुलाउने विषयमा भएको छलफल सहमतिमा पुग्न सकेन । प्रचण्ड र ओलीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा कुरा मिल्न नसकेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । एमाले अध्यक्ष ओलीले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि दुई नेताबीच सहमति हुन नसकेको हो ।
एमालेले सुन तस्करीको छिनोफानो नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ ।

प्रकाशित मिति:July 31, 2023