प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरिँदै: प्रमुख प्रशासकीय अधिकृत निरौला

  Sampatti News

July 31, 2023

झापा — दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले अश्लील हर्कतको प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरेका छन् । उनले क्वार्टरका कोठाको भित्री भित्तामा पुरानो रङरोगन मेटाएर नयाँ रङ लगाएका हुन् । एक महिलासँग क्वार्टरमै अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएपछि छानबिन हुने डरले प्रमाणको रूपमा रहेको कोठाको रङ परिवर्तन गरेको आशंका गरिएको छ । विगतमा रहेको हरियो रङ बदलेर उनले पहेँलो रङ लगाएका छन् । 

नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रङरोगनको कुनै निर्णय गरेको छैन । रङरोगनका लागि कुनै प्रक्रिया पनि अघि बढेको छैन । घटना बाहिरिएपछि उनले एक्कासि रङरोगन गरेका हुन् । ‘क्वार्टरमा रङरोगन गर्नेबारेको निर्णय कहीँ भएको छैन,’ नगर उपप्रमुख रेगिना भट्टराईले भनिन्, ‘उहाँ (निरौला) आफैँले रङ लगाउन निर्देशन दिनुभएको होला ।’

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले टिकटक लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि जनस्तरबाट उनीमाथि कारबाहीको माग भएको छ ।

निरौलाले भने क्वार्टरमा नभई उक्त गतिविधि काठमाडौंको एक होटेलमा गरेको दाबी गर्दै आएका छन् । उनले क्वार्टरभित्रका कोठाको रङ परिवर्तन संयोग मात्र भएको बताए ।


घटना सार्वजनिक भएपछि दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छानबिन गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ । उपप्रमुख रेगिना भट्टराईले निरौला संघअन्तर्गतका कर्मचारी भएकाले संघीय मन्त्रालयलाई नै कारबाहीका लागि पत्र लेखिएको उनले बताइन् । यसबीच, प्रमुख प्रशासकीय अधिकृत निरौला आइतबार कार्यालय गएनन् । मौखिक जानकारी दिएर आइतबार कार्यालय नआएको नगरपालिका स्रोतले जनाएको छ । 

प्रकाशित मिति:July 31, 2023