ललितपुर महानगरले जडान गर्‍यो चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइट

  Sampatti News

August 23, 2023

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ बाहिर पनि स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । ललितपुर महानगरको सुनाकोठी, धापाखेल, भैंसीपाटी, सुनाकोठी, बुङमती, खोकना क्षेत्रमा स्मार्ट लाइट जडान गर्ने काम सम्पन्न गरेको हो । यस्तै ललितपुर महानगरको वडा नम्बर २८ र २९ मा भने बत्ती जडानको काम सुरु भएको छ । केही साताभित्र नै बत्ती बल्ने गरी जडान सुरु गरेको महानगरले जनाएको छ ।

चक्रपथ बाहिरका वडाहरुमा १४ सय बत्ती जडान गरेको नगरप्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । ‘ललितपुर महानगरलाई उज्यालो शहर बनाउने अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गरेका हौं, यो कामबाट सडक सुरक्षित समेत भएको छ,’ उनले भने ।

महानगरका अनुसार स्मार्ट स्ट्रिट लाइटलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) गर्न बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ ।

ललितपुर महानगरको ‘कोर एरिया’ मा दुइ वर्ष अगाडि नै स्मार्ट सडक बत्ती जडान भइसकेको छ । महानगरपालिकाभित्रका तीनवटा रुटमा जम्मा ६ सय ६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान भएका हुन् । बागमती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक, मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भइसकेको महानगगरले जानकारी दिएको छ । स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरिरहेको नगर प्रमुख महर्जनले जानकारी दिए ।

ललितपुर महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो । बत्ती जडानका लागि समझदारीपत्रमा हस्ताक्षर समेत भइसकेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए ।

प्रकाशित मिति:August 23, 2023