इतिहास बोकेको जुम्लाको सिँजामा ऐतिहासिक केदारनाथ महोत्सव सुरु

  Sampatti News

August 28, 2023

जुम्ला । इतिहास बोकेको जुम्लाको सिँजामा ऐतिहासिक केदारनाथ महोत्सव सुरु भएको छ । महोत्सवको आयोजना सिँजा गाउँपालिकाले गरेको हो । सिँजा गाउँपालिकाले वडा नम्बर ४ मा रहेको केदारनाथको बुदवुदीमा महोत्सव शुरु गरेको हो । महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले गरेका छन् ।

मन्त्री बिसीले सिँजाको केदारनाथको भूगोलमा आएर अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँदै कर्णाली सरकारले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमलाई प्रथामिकता दिने बताए । उनले सिँजाको सस्कृति र इतिहासलाई बचाउन र विश्वसामु पुर्याउन यस क्षेत्रमा पूर्वाधार आवश्यक रहेकोमा जोड दिए ।

मन्त्री बिसीले जुम्लाको कला, संस्कृति र ऐतिहासिकता झल्काउने यस धार्मिक महोत्सवबाट कर्णालीलाई मष्टो सँस्कृतिको प्रवर्द्धन गर्ने सिकाइ हुने भन्दै सिँजा गाउँपालिकालाई आमन्त्रणका लागि विशेष धन्यवाद दिँदै केदारनाथको डिपिआर बनाएमा प्रदेश सरकारले सहयोग गर्ने बताए।

महोत्सवका विशिष्ट अतिथि कर्णाली सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको उत्पादनले कर्णालीको पहिचान भइरहेको भन्दै यहाँको रैथानेवाली मार्सीधान, चिनु, कागुनु, स्याउ, सिमी उत्पादन गुणस्तर भएमा व्यापारको व्यवस्था कर्णाली सरकारले गर्ने बताए।

उनले सिँजा सभ्यता भित्र यहाँको रैथाने बाली र कृषि क्षेत्र पनि पर्ने भएकाले कृषि उत्पादन र पर्यटनमा ठूलो सहयोग पुग्ने बताए ।

हिजोबाट शुरु भएको महोत्सव तीन दिन चल्ने छ । पहिलो पटक स्थानीय सरकार आयोजक बनेर शुरु गरिएको महोत्सवमा त्यहाँ वर माग्ने, गौजो काट्ने र एकादशीका दिनमा भारा नुहाएर अन्य मन्दिरमा लिने यहाँको महत्व छ ।

महोत्सवमा करिब ५ हजार बढीको संख्यामा महोत्सवमा सहभागी भएका सिँजा गाउँपालिकाले जनाएको छ । महोत्सवमा स्थानीय रैथाने वाली, स्याउ, राडिपाखी, स्थानीय उत्पादनका खानाहरु राखिएका छन् ।

महोत्सवमा खस सँस्कृति प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस सस्कृतिको नाटक सहित इन्द्रेणीको टिमको मनोरञ्जन झल्काइएको थियो ।

महोत्सवमा जुम्ला जिल्लाका पालिकाका प्रमुख उपप्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुख र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति:August 28, 2023