तीजका कार्यक्रम आयोजना गर्न पूर्व स्वीकृति लिएको हुनुपर्ने

  Sampatti News

August 30, 2023

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले तीजपर्वका अवसरमा कार्यक्रम आयोजना गर्नुपर्दा पूर्व स्वीकृति लिनुपर्ने बताएको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका ठाउँमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव वा अन्य कुनै प्रकारको कार्यक्रमको आयोजना गर्ने भएमा पूर्व स्वीकृति लिएको हुनुपर्ने जनाएको छ ।

‘हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिज नजिकिँदै गइरहेको सन्दर्भमा थप व्यवस्थित बनाउन , ‘तीजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति विना आयोजना नगर्न जानकारी गराएको छ ।

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन नगर्न नगराउन पनि कास्की प्रशासनले अनुरोध गरेको छ।

सूचना, सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ र अन्य प्रचलित कानुनको विपरीत हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव पार्टी जस्ता कार्यक्रमहरू नगर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित मिति:August 30, 2023