डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

August 30, 2023

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख (प्रहरी नायब उपरीक्षक) डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । केसीले १८ लाख रुपैयाँ घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बुटवलमा छँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाख ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैँसँग राखेका थिए । त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको पनि अख्तियारले जनाएको छ ।

उनले १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई सम्बन्धित व्यक्तिसँग मोलमोलाई गरेर १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति:August 30, 2023