हत्या काण्डका अभियुक्त सांसद यादव पक्राउ

  Sampatti News Online

September 4, 2023

सप्तरी – हत्या अभियोगमा दोषी ठहरिएका मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीले उनलाई राजविराजबाट पक्राउ गरेर अदालतमा बुझाएको हो । सप्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन ।  

सिंहलाई सप्तरी सदरमुकाम राजविराजबाट पक्राउ गरिएको हो ।

२०६४ सालमा भएको एउटा हत्याको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी फरारको सूचीमा थिए।

सिंहको निर्देशनमा खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो ।

तत्कालिन बोदे बर्साइन गाविस–४ बाट २०६४ साल असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याइ पाँचवटा गोली हानी उनको हत्या गरिएको थियो।

यस विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन समेत नगइ यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

फरार रहेकै अवस्थामा उनी २०७९ साल मंसिर ४ गते भएको  प्रदेश सभा चुनावमा आफैँ मनोनयन दर्ता देखि लिएर प्रचारप्रसारमा सहभागी भएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरेन।

मृतककी दिदी धनगढी गाविस–३ की  रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ साल असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी जाहेरी दिनु भएको थियो । 

प्रकाशित मिति:September 4, 2023