सुनखानीमा पुरिएर छ जना मजदूरकाे निधन

  Sampatti News

October 1, 2023

काठमाडौं । जिम्बाब्वेको एउटा सुनखानीमा पुरिएर छ जनाको ज्यान गएको छ भने निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

राजधानी हरारेबाट १०० किलोमिटर पश्चिममा रहेको चेगुतुमा रहेको बे हर्स सुनखानीको केही भाग भत्किँदा ३० जनाभन्दा बढी मजदुर फसेका थिए । तेह्र जना खानी कामदार भने बच्न सफल भएका बताइएको छ । खानीमा फसेकाहरूलाई उद्धारको प्रयास भइरहेको छ। खानीको भाग के कारणले भत्कियो भन्ने थाहा हुन सकेको छैन भने दुर्घटनाको विस्तृत विवरण पनि प्राप्त भएको छैन । जिम्बाब्वे खानी महासङ्घले घटनास्थलमा गएर कारण पत्ता लगाउने बताएका छन् ।

सुन, प्लेटिनम र हीराको विशाल भण्डार भएको जिम्बाब्वेमा सुरक्षा मापदण्डको पूर्ण पालना नहुँदा खानी दुर्घटनाहरू सामान्य बन्ने गरेका छन् । सन् २०१९ मा भीषण वर्षासँगै खानीमा बाढी पस्दा धेरै मजदूर डुबेका थिए । एजेन्सी

प्रकाशित मिति:October 1, 2023