आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक

  Sampatti News

October 2, 2023

काठमाडौं । खाना पकाउने ग्याससहित सबै इन्धनको मूल्य बढाएपछि चौतर्फी आलोचना खेपेको नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता गरेको छ । मूल्यवृद्धि फिर्ता लिने निर्णयले आम उपभोक्तालाई राहत भएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएको भन्दै निगमले स्वचालित मूल्य प्रणाली अनुसार भाउ बढाएको थियो । चाडपर्वको मुखमा मूल्यवृद्धिको उपहार दिएको भन्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा निगमले बढेको मूल्यलाई स्थगित गर्दै पुरानो मूल्यलाई नै कायम गरेको हो ।निगमले खाना पकाउने ग्यास सिलिन्डरमा दुई सय १५ रूपैयाँ मूल्य बढाएको थियो । ग्यासको मूल्य २१ सय १० रूपैयाँ पुगेको थियो । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रूपैयाँ, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन प्रतिलिटर आठ रूपैयाँ बढाएको थियो ।काठमाडौं उपत्यकामा डिजेल र मट्टितेल लिटरको एक सय ७९ रूपैयाँ, पेट्रोल एक सय ८५ रूपैयाँ पुगेको थियो । मूल्य बढाउने निर्णयबाट पछि हटेपछि अब उपभोक्ताले साविककै मूल्य अनुसार ग्यास सिलिन्डर १८ सय ९५ रूपैयाँ, पेट्रोल लिटरको एक सय ८३ र डिजेल एक सय ७६ रूपैयाँमा प्रयोग गर्न पाउने छन् ।निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलको ४ रूपैयाँ ८२ पैसा, हवाई इन्धन ६ रुपैयाँ ५४ पैसा र खाना पकाउने ग्यास सिलिन्डरको एक सय ७३ रूपैयाँ ४५ पैसा बढेर आएको थियो। मूल्य बढेर आए पनि अहिले उपभोक्तालाई राहत दिन साविकको मूल्य कायम गरिएको छ ।अन्तर्राष्ट्रिय मूल्यका आधारमा मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने भन्दै निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागु गरेको थियो । शनिबार मूल्य बढाएको निगमले सरकारको हस्तक्षेपपछि आइतबारदेखि स्वचालित मूल्य प्रणालीलाई नेक लगाएको हो । यो समाचार नागरिक दैनिकमा छ ।

प्रकाशित मिति:October 2, 2023