दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

  Sampatti News

October 11, 2023

काठमाडौँ । दशैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दशैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।”

अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दशैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको उनले बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत उनको भनाइ छ ।

त्यस्तै यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दशैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दशैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने उनले बताए ।

अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको उनले बताए ।

बुद्ध एयरका अनुसार घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दशैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपियाँ रहेको छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपियाँ रहेको छ । त्यस्तै सुर्खेतको महँगो भाडादर १४ हजार १६८, काठमाडौँदेखि सबैभन्दा नजिकको सिमरा र भरतपुरमध्ये सिमराको महँगो भाडा दर चार हजार नौ सय रुपियाँ छ भने भरतपुरको अधिकतम भाडा चार हजार ६१ रुपियाँ रहेको छ ।गाेरखापत्रबाट

प्रकाशित मिति:October 11, 2023