कैलालीमा बाढीः ३ बेपत्ता, ६ हजार बढी घर डुवानमा

  Sampatti News

July 30, 2020

कैलाली । कैलालीको भजनीमा बाढीले बगाएर बुधबार तीन जना बेपत्ता भएका छन्, भने ३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका ३ जनालाई रुखमा अड्किएको अवस्थामा उद्धार गरिएको हो।
बेपत्ता हुनेमा बाढीबाट अति प्रभावित क्षेत्र भजनी नगरपालिका– ८ सोनाफाँटाका ठग्गु चौधरीको ११ वर्षीय छोरा स्केल चौधरी, इश्वर शाही र चक्र विक रहेका छन्।

सानाफाँटाकै हेमन्त शाही, बल बहादुर चौधरी र बिक्की शाहीलाई पनि बाढीले बगाएको थियो। तर, उनीहरु रुखमा अड्किएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार बाढीले ६ हजार ३ सय भन्दा धेरै घर डुबाननमा परेका छन्।
कर्णाली, पथरैया, काँढा, कान्द्रा, मोहना लगायतका नदीमा आएको बाढीले जिल्लाको पूर्वी क्षेत्रमा डुबान भएको हो।

गाउँपालिकामा २ हजार ३ सय १५ घर डुबानमा परेका छन्। त्यस्तै भजनी नगरपालिकामा २ हजार १ सय ८०, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८ सय २५ घर डुबानमा परेका छन्। भजनी नगरपालिकाका डुबान प्रभावितहरुलाई नजिकैको बिद्यालय र हुलाकी राजमार्गमा राखिएको छ।

प्रकाशित मिति:July 30, 2020