तीन वटा गाडीहरु एकापसमा ठोक्किँदा चार जना घाइते

  Sampatti News Online

October 29, 2023

पोखरा । पोखरा–बाग्लुङ सडक मार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका –६ स्थित बेतेनीमा आइतवार दिउँसो तीन वटा गाडीहरु एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् । 

घाइतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ । बाग्लुङबाट पोखरा जाँदैगरेको ग.१ ज ७४६९ नम्वरको जिपले सोही दिशातर्फ जाँदैगरेको वा.२१ च. ३८४ नम्वरको कारलाई ओभरटेक गरी जाँदैगर्दा विपरीत दिशामा जाँदै गरेको ट्याक्सीसँग ठोक्किन पुग्दा तीन वटै गाडी आपसमा ठोक्किएका थिए । 

गाडी ठोक्किँदा घाइते हुनेहरु चार जना ध.१ ज १०८७ नम्वरमा सवार यात्रुहरु रहेको प्रहरी चौकी डिमुवामा कार्यरत प्रहरी नायब निरीक्षक तोरणध्वज पौडेलले बताउनुभयो । तीन वटै गाडीमा भौतिक क्षति भएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने बाँकी यात्रुको गोडामा चोट लागेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । तीनवटा गाडीका चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख खुमलाल भुसालले बताउनुभयो ।

गाडीहरु एकापसमा ठोक्किँदा केही समय सडक नै अवरुद्ध हुन पुगेको बाग्लुङबाट पोखरा जाँदै गरेका यात्रु रमेश पौडेलले बताउनुभयो ।

प्रकाशित मिति:October 29, 2023