मुगु सामूहिक हत्या प्रकरण : एक जना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

  Sampatti News Online

October 30, 2023

मुगु । मुगुको सामूहिक हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार मध्यान्न करिब  १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो)नजिकैबाट प्रहरीले शंकास्पद  व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

उक्त घटनामा आइतबार प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी टोली अहिले घटनास्थल वरपरको अनुसन्धान मिहिन रूपमा गरिरहेको भन्दै थापाले प्रहरी हत्याराको नजिक पुगेको बताएका छन् ।

थापाले भने, ‘शंकास्पद र अनुसन्धानले नजिक पुर्‍याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, यकिन र विस्तृत विवरण सङ्कलनपछि घटनाबारे थप कुरा सार्वजनिक गछौँ ।’ उनका अनुसार प्रहरीले हत्या प्रकरणमा महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि सबै कोणबाट अनुसन्धान जारी राखेको छ ।

हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ । यसैबीच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल समेत आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् ।

गत शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाको छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेको थियो । हत्या गरिएका चारै जना बोहोरा परिवारको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

प्रकाशित मिति:October 30, 2023