गोली प्रहारबाट प्रिन्सिपलको मृत्यु प्रकरण: प्रेम सम्बन्ध नै हत्याको मुख्य कारण

  Sampatti News Online

October 31, 2023

वीरगञ्ज। गोली लागेर मृत्यु भएका कलैयाको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या महिलासँगको प्रेम सम्बन्धका कारण भएको खुलेको छ।

भारतीय नागरिक मनोज गुप्ता, स्कूलकी पूर्वशिक्षिका राधा गुप्ता र स्वर्णकारको प्रेम सम्बन्धका कारण उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । ‘प्रेमकै कारणले हत्या भएको देखिएको छ । उनका अनुसार प्रहरी अनुसन्धान करीब अन्तिम चरणमा पुगेको छ । आफ्नै नाता पर्ने अर्थात् मनोज र विद्यालयका प्रिन्सिपलसँग राधाको समानान्तर प्रेमसम्बन्ध गरेका कारण हत्या निम्त्याएको प्रहरीको बुझाइ छ । 

विद्यालयका एक शिक्षकका अनुसार मनोज बेला बेलामा विद्यालयमा आइरहन्थे । एकपटक मनोजले विद्यालयमै आएर राधालाई हातपात गरेका थिए । उनले ‘तँलाई पनि मार्छु’ भन्दै धम्की दिएको ती शिक्षकले बताए । 

मनोजलाई स्वर्णकारले विद्यालयमा नआउन भनेका थिए । राधालाई पनि विद्यालयमा चर्को विवाद हुने भएपछि लेखापालबाट हटाएको ती शिक्षकले बताए । 

सोमवार (१२ गते) २ वटा मोटरसाइकलमा आएको समूहले स्वर्णकारको गोली हानेर हत्या गरेको थियो । कलैयाको रोजमेरी रेष्टुरेन्टबाट खाजा लिएर फर्कँर्दैँ गर्दा गोली प्रहार भएको थियो । 

स्थानीयका अनुसार पहिलो मोटरसाइकलले गोली प्रहार गर्दा स्वर्णकार जोगिएका थिए । दोस्रो मोटरसाइकलमा रहेका २ जनाले गोली प्रहार गरेका थिए । 

पाखुरामा गोली लागेर लडेका स्वर्णकारलाई मोटरसाइकलबाट झरेर छातीमा गोली प्रहार गरिएको थियो । घाइते उनको अस्पताल लगेपछि मृत्यु भएको थियो । 

कलैयाकै एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जसमा तीन जना भारतीय रहेका छन्।

ती महिलाको प्रेम सम्बन्ध अर्कै पुरुषसँग पनि भएकाे र सोही कारण स्वर्णकारको हत्या भएको हो।

उक्त हत्यामा भारतीय सुटरको प्रयोग गरिएको देखिएको छ। पक्राउ परेकी महिलाकै योजनामा भारतबाट सुटर मगाएर गोली हानी हत्या भएको हो। हत्या कसरी र किन भएको हो भन्नेबारे छिटो पत्रकार सम्मेलन गरी जानकारी दिने प्रवक्ता न्यौपानेले बताए।

सोमबार दिउँसो दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूले‍ पछाडिबाट लखेटेर गोली प्रहार गर्दा स्वर्णकार गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा वीरगञ्जस्थित वयोद्धा अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित मिति:October 31, 2023