१० औं विश्व माटो दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न

  Sampatti News Online

December 5, 2023

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाएको छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित १६ मंसिरदेखि १९ मंसिरसम्म चार दिन बिभिन्न कार्यक्रम गरी विश्व माटो दिवस मनाएको हो ।

‘विश्व माटो दिवस २०२३’ को अवसरमा नार्कद्वारा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपञ्छी विकास मन्त्री डा।बेदुराम भुसालले विश्वव्यापी रुपमा माटो विग्रदै गएको वर्तमान अवस्थामा नेपालको माटो स्वस्थ राख्न सरोकारवाला सबै लाग्नुपर्ने बताएका छन् ।

नदी नालामा बगेर गइरहेको प्रांगारिक पदार्थलाई खेतबारीमा सिंचाई गरी माटोको उर्वराशक्ति बढाउने किसिमको कार्यक्रम आवश्यक रहेको मन्त्री भुसालले बताए ।

धर्तीमातालाई बचाऔं भन्ने विश्वव्यापी नारालाई नेपालको माटो बचाउने सन्दर्भमा पनि लागु गर्न जरुरी रहेको उनले बताए । नेपालका बैज्ञानिकहरुले माटोको मलिलोपना बढाउन सम्बद्ध सबै सरोकारवालासँग समन्वय गरी उपयुक्त प्रविधिको विकास गर्न जरुरी रहेको मन्त्री भुसालले बताए ।

कार्यक्रममा कृषिका सचिव डा।गोविन्दप्रसाद शर्माले जीवनको उद्गम माटो र पानीबाटै हुने भएकाले यसको जगेर्ना गर्न हामी सबै जुटनुपर्ने बताए । माटो परीक्षणका तथ्यांकहरु विश्वसनीय बनाउन प्रयोगशालाहरुले आफ्नो कार्यक्रम विस्तार गर्नुपर्ने बताए । माटो संरक्षणका लागि एउटा बृहत परियोजनाको आवश्यकता रहेको पनि उनले बताए ।

कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले माटो दिवस मनाउने क्रममा धेरै संस्थाहरुको बीचको सहकार्यबाट कार्यक्रम सम्पन्न हुनु सराहनीय रहेको बताए । प्रदेश स्तरमा पनि यस्तै कार्यक्रम सञ्चालन भइरहेकोमा तिनलाई अझै व्यापक बनाउनुपर्ने बताए । माटोको उर्वराशक्ति बढाउने प्रयासहरु बढाउँदै लैजानुपर्ने उनले बताए ।

नार्कका कार्यकारी निर्देशक डा।ध्रुवराज भट्टराईले स्थानीय स्तरमै माटो दिवस मनाउँन र स्थानीय सरकारसँग माटो जोगाउँने सन्देश दिन संघीय सरकारले पहल गर्नुपर्ने आवश्यकता औंल्याए । माटो दिवस मनाउन सहयोग गर्ने सबै संघसंस्थालाई उनले धन्यावाद दिदै आगामी कार्यक्रमहरुमा पनि यस्तै सहकार्य हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माटो संरक्षण एवं व्यवस्थापनमा उत्कृष्ट ठहरिएका दुई किसानलाई सम्मान गरिएको छ । देशैभरीबाट ३ हजार ४ सय ७५ जना किसानका माटोका नमुना संकलन गरी देशका बिभिन्न प्रयोगशालामा जाँचेर प्राप्त माटो परीक्षण प्रतिवेदनका आधारमा उत्कृष्ट ठहरिएका रुकुम जिल्ला मुसिकोट नगरपालिका ८ का कृष्णबहादुर खड्का र दांग जिल्ला लमही नगरपालिका २ का प्रेम चौधरीलाई जनही १० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका बैज्ञानिक नविन रावलले बताए ।

यस्तै कार्यक्रममा नेपालको माटोको वर्तमान अवस्थाको बारेमा केन्द्र प्रमुख डा। श्रीप्रसाद विष्टले कार्यपत्र प्रस्तुत गरेका थिए । बायोचारको प्रयोगबाट माटोमा सुधार बारे डा।नमिन्द्र दाहाल, माटोमा पानीको भण्डारण सम्बन्धी डा।खेमराज दाहालले कार्यपत्र पेश गरेका थिए ।

नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफ.ए.ओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र, नेपाल विउ तथा मल परियोजना, रिड परियोजना, फेन्सेप परियोजना लगायतको संयुक्त सहकार्यमा विश्व माटो दिवस मनाइएको हो ।

‘विश्व माटो दिवसमा सामेल होऔं र दिगो भविष्यको लागि यो अमुल्य श्रोतको संरक्षण गर्न प्रतिबद्ध बनौं’ भन्ने आह्वान गर्दै विश्व माटो दिवसको अवसरमा चार दिनसम्म बिभिन्न कार्यक्रम गरिएको थियो । माटो सुधारका उपायबारे प्रचार प्रसार, माटोको निशुल्क जाँच शिविर, विद्यार्थीलाई माटो परिक्षण, स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउनुका साथै जाँच प्रक्रियामा विद्यार्थीलाई समेत सहभागि गराउँदै माटो दिवश मनाइएको थियो ।

माटो विज्ञान अनुसन्धान केन्द्रले १६ मंसीर (२ डिसेम्बर) मा टेलिभिजनमा माटोको उर्वराशक्तिको महत्व, संरक्षण र सुधार बारे बहस कार्यक्रमको शुभारम्भ गर्दै प्रचारप्रसार गर्नुका साथै १७ र १८ मंसिरमा भक्तपुरको खोपासीमा किसानको निशुल्क माटो परीक्षण गर्ने कार्यक्रम समेत गरेको केन्द्रका प्रमुख डा।श्रीप्रसाद विष्टले जानकारी दिए । दुई दिनसम्ममा खोपासीका ६० भन्दा बढी किसानको माटो निशुल्क परीक्षण गरिएको थियो ।

खोपासी, भक्तपुरमा किसानको निशुल्क माटो परिक्षण गर्दा त्यहाँका विद्यार्थीलाई समेत त्यसमा संलग्न गराउने कार्यक्रम भयो । केन्द्रका बैज्ञानिक डा।रोशनबाबु ओझाका अनुसार विद्यार्थीलाई माटो परीक्षण गर्ने तरिका र स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउने र जाँच प्रक्रियामा सहभागि गराइएको हो । साथै विद्यार्थीहरुलाई माटोको नमुना संकलन विधि समेत सिकाउने काम भएको उनले बताए ।

विश्वभर बिद्यमान रहेको माटोको दिगो उर्वराशक्ति व्यवस्थापन सम्बन्धि विषयलाई विश्वस्तर मै एकताबद्ध रुपमा सम्बोधन गर्ने र यस सम्बन्धमा व्यापक जनचेतना अभिबृद्धि गर्ने मूल ध्येयका साथ संसारभरी विश्व माटो दिवस डिसेम्बर ५ का दिन मनाउँने गरिन्छ ।

खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.)को सिफारिसमा संयुुक्त राष्ट्र संघको ६८औं महासभाको निर्णयले सन २०१३ देखि डिसेम्बर ५ का दिनबाट यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व माटो दिवस १० औं विश्व माटो दिवस हो । नेपालमा भने सन २०१४ डिसेम्बर ५ का दिन काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको हो ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले चारदिनसम्म बिभिन्न कार्यक्रम गरी विश्व माटो दिवस सफलतापूर्वक मनाइएको छ ।

प्रकाशित मिति:December 5, 2023