नार्क र विश्व वन्यजन्तु कोषबीच उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारी

  Sampatti News Online

December 11, 2023

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ ।

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो । समझदारीपत्रमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई, योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे र कोषका तर्फबाट कोषका नेपाल प्रतिनिधि धनश्याम गुरुङ र संरक्षण कार्यक्रमका वरिष्ठ सल्लाहकार शिवराज भट्टले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा पत्रमा हस्ताक्षर पश्चात नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले दुबै पक्षको सामुहिक प्रयासबाट परियोजनाले तोकेको उपलब्धी समयमै हासिल गर्न सकिने बताए । यति महत्वपूर्ण बिषयमा डब्लुडब्लुएफसंग सहकार्य गर्न पाउँदा उनले खुशी व्यक्त गर्दै यसबाट देशको कृषि अनुसन्धानमा महत्वपुर्ण योगदान पुग्ने बताए ।

यस्तै कोषका नेपाल प्रतिनिधि गुरुङले १० बर्ष भित्रैमा उच्च पर्वतीय क्षेत्रमा नमुना जिन बैंक स्थापना गर्न सकिने बताए । रैथाने अनुवंश र आनुवंशिक विविधतालाई संरक्षण गरेर लैजान यो परियोजना सफल हुने विश्वास उनले व्यक्त गरे । राष्ट्रिय जिन बैंकका प्रमुख डा. बालकृष्ण जोशीले यो परियोजना कार्यान्वयन गर्दै मनाङ र मुस्ताङमा पाइने स्थानीय साँस्कृतिक, धार्मिक, प्ररम्परा र उक्त स्थानमा पाइने रैथाने कृषि अनुवंशिक स्रोतहरुको अध्ययन अनुसन्धान गरिने बताए ।

मनाङ र मुस्ताङ मध्ये उपयुक्त एक स्थानमा हिमाली जीन बैंकको रूपमा बिउबिजनको संरक्षणका लागि एउटा बीउ बैंक स्थापनाको सम्भाव्यता अध्ययन गरिने जोशीले बताए । साथै स्थानीय बालीनाली र पशुपंक्षीको पौष्टिक लगत तयार गरिने, उपयोगमा नल्याइएका र वेवास्ता गरिएका जन्तु र वनस्पतीको उपयोग बढाउन अवश्यक अनुसन्धान गिरने उनले बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले वश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा सञ्चालन हुने यो परियोजनाको सफल कार्यान्वयनले उच्च पर्वतीय कृषि अनुसन्धानमा ठूलो योगदान पुग्ने बताए । दुबै पक्षको सक्रियताबाट परियोजना कार्यान्वयनले कृषि अनुसन्धानका थप तथ्यहरू पत्ता लाग्ने र यसबाट अनुसन्धानकर्ता र कृषक समेत लाभान्वित हुने उनले बताए ।

प्रकाशित मिति:December 11, 2023