डिआईजी भट्टराईको निर्देशन पछि रौतहटको कौडा जुवा नियन्त्रण

प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार उठाउँथे

  Sampatti News Online

December 28, 2023

रौतहट १२ पुस। मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी जनक भट्टर्राईको निर्देशन पछि रौतहटको कटहरिया स्थित अबैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रण भएको छ।
डिआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुर बाट डिएस्पी बीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरिया स्थित लालबकैया नदीको पुल छेउ पुगेपछि जुवाडेहरुकोे भागाभाग भएको थियो।
पछिल्लो एकसाता देखि कटहरिया बजार भन्दा झण्डै दुई किलोमिटर पश्चिम लालबकैया नदीको पुल छेउ केराघारीमा लाखौं लाखको कौडा जुवा हुँदै आएको थियो। स्थानिय एकजना मेयर प्रत्याशिले प्रहरी देखि पत्रकार सम्म मिलाएर आफ्नो मानिस हरिन्दर कुर्मीको रेखदेखमा जुवा खेलाई रहेको थियो । डिएस्पी पासवानका अनुसार जुवा सञ्चालन गर्ने समूहले उक्त स्थानको झण्डै डेढ़ दुई किलोमटर वरपर मानिस राखेर रेकी गर्न लगाएका थिए। उनीहरूले नै प्रहरीलाई हेरेर जुवाडे लाई मोबाईल बाट खबर गरेपछि भाग्न सफल भएको डिएस्पी पासवानले बताएका छन्। उक्त स्थान बाट कौडा जुवा खेलाउन प्रयोग हुने केही सामान बरामद भएको डिएस्पी पासवानले जानकारी दिएका छन्। एकसाता देखि केराघारीमा दैनिक बिहान १० बजेदेखि बेलुकी सम्म कौडा जुवा भइरहेको थियो। त्यहाँ जुवा खेल्न सर्लाही, देखि रौतहट र बारासम्मका नामुद जुवाडेहरु आउनेगरेका थिए। त्यहाँ हुने कौडा जुवा बाट प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार रुपैयाँ उठाइने गरेको एकजना सहभागीले बताएका थिए । कौडा जुवा खेलाउने मेयर प्रत्याशिले जुवा खेलाउन जिल्ला प्रहरी कार्यालय रौतहट देखि सशस्त्रका एस्पी नजिकका नेपाल प्रहरी र सशस्त्र प्रहरीका उनिटहरु समेत मिलाएर मासिक रूपमा पैसा दिनेगरेको बताउँदै आएका थिए।
जुवा खेल्ने खेलाउने नामले कुख्यात स्थानियतहको पहिलो निर्वाचनमा सहभागी भएपछि उनले जुवा खेल्ने खेलाउने काम बन्द गरेका थिए। तर गत स्थानियतहको निर्वाचनमा उनी पराजित भएपछि फेरि  जुवा खेलाउने ,तस्करी लगायत अबैधकामको लागि प्रहरीलाई मिलाउने अर्थात बिचौलियाको काम गर्दै आएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी जनक भट्टराईले जुवा कौडा खेल्ने खेलाउने जो कोहीलाई पनि छुट नहुने कडा कारवाहीको चेतावनी दिएका छन्। उनले कटहरियामा भइरहेको जुवा बारे अनुसन्धान समेत भईरहेको बताएका छन्।

प्रकाशित मिति:December 28, 2023