सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ

  Sampatti News Online

December 29, 2023

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पोखराको सुर्यदर्शन सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्। कास्की प्रहरीले रामेछापको लिखु तामाकोशी-७ का ३८ वर्षीय दर्लामीलाई पक्राउ गरेको हो। दर्लामी लिखु तामाकोशी गाउँपालिका ७ का वडाध्यक्ष समेत हुन् । उनी २०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

रकम हिनामिना उजुरीपछि उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाखभन्दा धेरै रकम हिनामिना भएको छ ।

प्रकाशित मिति:December 29, 2023