रौतहट कांग्रेस सभापतिको नगर बेहाल

के भन्छन् अन्य दलका अध्यक्षहरु ?

  Sampatti News Online

January 4, 2024

रौतहट १९ पुस। नेपाली कांग्रेस रौतहटको सभापती एवं प्रदेश सांसद सुनिल कुमार यादव (जितेन्द्र) को गृह नगर फतुवा बिजयपुरको अवस्था पूर्ण रुपमा बेहाल बनेको छ।
उनकै पार्टी अथवा नगरमा कांग्रेसकै बहुमत हुँदा हुँदै हालसम्म बजेट पारित हुन नसकेको कारण सम्पूर्ण आर्थिक कारोवार ठप्प प्रायः भएको छ।
यस आर्थिक बर्षको साउन अर्थात ७ महिना देखि तलब नपाएका फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी तलबको माग गर्दै बुधवार देखि धर्नामा बसेका छन्।
यसरी तलबको माग गर्दै उक्त नगरमा शिक्षक कर्मचारी आन्दोलनमा उत्रनु, धर्ना बस्नु नौलो कुरा होइन। फतुवा बिजयपुरका तत्कालीन मेयर गोपाल राय यादवको पहिलो कार्यकालमा पनि तलबको माग गर्दै शिक्षक कर्मचारी पटकपटक आन्दोलित हुँदै आएका छन्।
तर सो ताका तत्कालीन मेयर यादव संगै कांग्रेसका ठूला बनाउने नेताहरु नगरपालिकामा बहुमत छैन र अन्य दलका उपमेयर तथा वडा अध्यक्षहरुको असहयोगको कारण यस्तो भयो भन्दै सहजै पन्छिने गरेका थिए।
तर यसपटकको अवस्था भने फरक रहेको छ। ११ वडा रहेको फतुवा बिजयपुर नगरपालिकामा कांग्रेसको मेयर, उपमेयर,७ वडा अध्यक्ष निर्वाचित भएको छ। ३ वडा अध्यक्ष एमाले र एउटा वडा अध्यक्ष जसपाको निर्वाचित भएको छ।
नगर कार्यपालिका बोर्डमा २१ जना मध्ये १६ जना कांग्रेसको रहेको छ। यति प्रचण्ड बहुमत हुँदा पनि पार्टी भित्रै भागबण्डा नमिलेको कारण एक अर्कालाई असहयोग गरी असफल बनाउने खेल भईरहेकाले असार १० गतेभित्र हुनुपर्ने नगरसभा हालसम्म भएको छैन।
तथापि गत साउन देखि तलब पाउन नसकेका शिक्षक कर्मचारी नगरपालिकाको अगाडी धर्ना सुरु गरेका हुन। नगरक्षेत्र अन्तर्गतका प्रत्येक माबि बाट ३ जना, निमाबी बाट २ जना प्राबि बाट १ जनागरी आजदेखि पालोपालो गरी धर्ना सुरुभएको हो। समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने माबी दुधिअवाका शिक्षक रञ्जन खरेलले बताए।
बुधवार पहिलो दिनको धर्नामा कार्यवाहक मेयर अम्बेया खातुन, अन्य दलका ४र काँग्रेसका १ जनागरी ५ जना वडा अध्यक्ष समेतले ऐक्यबद्धता जनाएका थिए।
फतुवा बिजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम उ्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको हो।
जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन्।
मन्त्रालयको निर्देशनमा फतुवामा केहीसमय अघि प्रशासकिय अधिकृतको रूपमा आएका उपसचिव सुरेन्द्र प्रधान र मेयर खातुनको प्रयासमा अघिल्लो महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।
मेयर खातुनको निर्देशनमा नगरसभाको लागि पटकपटक बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरु संगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरु बिभिन्न आरोप लगाउँदै बैठकमा उपस्थित भएका छैनन्।
असार १० गते भित्र हुनुपर्ने नगर परिषद गराउन सूचना समेत गरिसकेको अवस्थामा कांग्रेस जनप्रतिनिधि बीच आपसी तालमेल नमिलेको कारण अन्तिममा स्थगित गरिएको थियो।
हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि सुन्य भएको छ।
नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् । कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको दिन तोक्न तीनपटक लिखित सूचना पठाउँदा मेयर बाहेक काँग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरु पत्र नै नबुझ्ने गरेकाले अवस्था अन्यौल बनेको उपसचिव प्रधानले गुनासो गरेका छन्।
कांग्रेस पार्टीका एकजना वडा अध्यक्ष राकेश यादवले कार्यवाहक मेयर कांग्रेस पार्टीकै भएर एकोहोरो गर्न खोजेकाले पहिले पार्टीभित्र आएर आत्म आलोचना गरेपछि मात्र बैठकमा सहभागि हुने बताउँदै आएका छन्।वडा अध्यक्षहरुको बखेडा तथा अवरोधको कारण नगरपालिकाको कामकाज प्रभावित बनाईरहेको कार्यवाहक मेयर अम्बेया खातुनले बताएकी छन्।
लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालत बाट भएपछि उनको पद गएको थियो। उनी निलम्बित भएपछि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएको थियो।
के भन्छन अन्य दलका सभापतीहरु
नेकपा एमाले नगरकमिटी सभापती रामएकवाल यादवले कार्यवाहक मेयर अम्बेया खातुन सम्पूर्ण जनप्रतिनिधि लाई साथ लिएर नगर लाई अगाडी बढाउन पटकपटक प्रयास गर्दै आएकी छिन् तर उनकै पार्टीको जनप्रतिनिधिको असहयोगको कारण असफल हुँदै आएको बताएका छन्।
नेकपा माओबादी केन्द्रका नगर सभापती अजय तिमल्सिनाले निलम्बित मेयर गोपाल यादवको भागको बजेट तीन करोड रुपैया कसले चलाउने बिषय लिएर बाझाबाझ भएको कारण नगरको अवस्था दयनिय भएको बताएका छन्। कांग्रेसको नगरभित्र बहुमत , पार्टी जिल्ला सभापति प्रदेश सांसद सुनिल कुमार यादवको गाउँ फतुवा बिजयपुर अनिर्णयको बन्दी हुनुमा स्वयं सभापतिको पनि दोष छ।
यदि उनि सीधा मनले पहल गरेमा केहीबेरमै समाधान हुने अध्यक्ष तिमल्सिनाको तर्क छ।
आमजनता पार्टीका नगर सभापती बिजय यादवले निलम्बित मेयर गोपाल राय यादव असक्षम रहेको कारण नगरको दुर्दशा भएको बताएका छन्। कांग्रेसकै केही शीर्षनेताले नदी दोहन गरेर मेयर गोपाल राय यादव लाई फसायो र फेरि आफ्नो स्वार्थ पूर्ति अर्थात् पुनः नदी दोहन गर्न नगरपालिका लाई अनिर्णयको बन्दी बनाएको अध्यक्ष यादवले दाबी गरेका छन्।
नेपाली कांग्रेस नगर सभापती बाबुराम अधिकारीले नगरको समस्या समाधान गर्न पार्टीले पहल गरिरहेको तथा आउने आईतवार बैठक बोलाएको बताए। प्रदेश सांसद तथा पार्टी जिल्ला सभापति सुनिल यादव पनि पटकपटक पहल गरिरहेको बताए। सञ्जय मिश्रा

प्रकाशित मिति:January 4, 2024