दुई सचिवको सरुवा संचारमा सुवेदी, वित्त आयोगमा राउत

  Sampatti News Online

January 10, 2024

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रामकृष्ण सुवेदीको सरुवा गरेको हो । 

राउतलाई आयोग र सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयको स्रोतबाट जनाएको छ । 

सचिव राउत चैत १४ गते मधेस प्रदेशको प्रमुख सचिवबाट सञ्चार मन्त्रालयमा सरुवा भई आएका थिए । नेपाल टेलिकमको नयाँ बिलिङ ठेक्का, आइएसपीलगायतका विषयमा जोडिएका समस्याहरु चरम उत्कर्षमा पुगिरहेका बेला सचिव राउतको सरुवा भएको हो । बिभिन्न थरिका स्वार्थ समुहहरूको चलखेल रहँदै आएको र चौतर्फी आलोचनाको सामना खेपी रहेको बेला मन्त्रालयबाट १० महिनामै सचिव सरुवा हुनु परेको मन्त्रालय स्रोत ले सम्पत्ति न्युजलाई बताएको छ । 

सञ्चारबाहेक गृह सहित अन्य केही मन्त्रालयका सचिवहरूको सरुवा हुने चर्चा रहे पनि यस पटकलाइ भने दुई सचिवको मात्रै निर्णय भएको समाचार स्राेतले बताएकाे छ।  

प्रकाशित मिति:January 10, 2024