नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन मन्त्री रेखा शर्माको निर्देशन

  Sampatti News Online

January 10, 2024


काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरुको विस्तार र मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएकी छन् । उनले सेवा विस्तारमात्रै गरेर नहुने भन्दै त्यसको गुणस्तरलाई समेत प्रभावकारी बनाउन निर्देशन दिइन् ।

बुधवार मन्त्रालयमा नेपाल टेलिकमबाट रुकुम पूर्वको रुकुमकोट र रुकुम पश्चिमको मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पुर्‍याएर फाइबर टु द होम (एफटिटिएच) सेवाको भर्चुअलरुपमा शुभारम्भ गर्दै उनले टेलिकमले सेवा विस्तारसँगै आफ्नो सेवाको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन् । मन्त्री शर्माले टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई पनि चुस्त बताउनुपर्ने बताइन् ।

‘सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । प्रविधिको क्षेत्रमा आधारभुत पूर्वाधार भनेकै दूरसञ्चार रहेछ । सूचना र प्रविधिका विविध क्षेत्रमा, विविध आयाममा विकास गर्छु भन्दै गर्दा यदि दुरसञ्चार विकास भएन भने सम्भव नहुने रहेछ, मन्त्री शर्माले भनिन्, त्यसकारण यसमा हामीले विशेष ध्यान दिनु आवश्यक छ । फाइबर टु द होमको जुन सेवा विस्तार भइरहेको छ, तर गुणस्तर कायम गर्नु हाम्रोलागि चुनौतीको विषय हो । त्यसकारण नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको गुणस्तर चुस्त दुरुस्त बनाउनुपर्छ ।

मन्त्री शर्माका अनुसार फाइवर टु द होमु सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको भन्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पुर्‍याइसक्ने तयारी रहेको छ ।

प्रकाशित मिति:January 10, 2024