बोतलको पानी सोचेभन्दा पनि खराब १ लिटरमा भेटियो २ लाख ४० हजार प्लास्टिकका कण

  Sampatti News Online

January 11, 2024


काठमाडौं। बजारमा पाइने बोतलको पानी जति खराब मानिन्छ, त्योभन्दा सयौं गुणा खराब हुने गरेको तथ्य वैज्ञानिक खोजबाट पत्ता लागेको छ। वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार प्लास्टिकको बोतलमा प्याक गरिएको पानीमा प्लास्टिकका स–साना लाखौं कणहरु पाइन्छन्।

‘प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज’मा प्रकाशित यो खोजका लागि वैज्ञानिकहरुले नयाँ प्रविधिको प्रयोग गरेका बताइएको छ। हालै मात्र पत्ता लागेको यो प्रविधिको माध्यमबाट वैज्ञानिकहरुले प्लास्टिकको बोतलमा आउने पानीमा हुने प्लास्टिकका कणहरुको गणना गरे। गणनाका क्रममा १ लिटर पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका कण भेटियो।

वैज्ञानिकहरुले अलग–अलग कम्पनीको पानी जाँच गरेका थिए। अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले प्लास्टिकको बोतलमा प्याक गरिने पानीमा पहिलेको अनुमानभन्दा धेरै गुणा बढी प्लास्टिकको कण पाइएको बताएका छन्, जुन चिन्ताको विषय भएको उनीहरुले उल्लेख गरेका छन्।

कोलम्बिया विश्वविद्यालयमा जिओक्यामेस्ट्रीका एसोसिएट प्रोफेसर बाइजान यानले भने, ‘यदि मानिसहरु बोतलबन्द पानीमा नानोप्लास्टिक हुने विषयलाई लिएर चिन्तित छन् भने उनीहरुले नल (धारा)को पानीलाई विकल्प सोच्नु पूर्ण रुपमा जायज हो। तर हामी बोतलबन्द पानी पिउनै हुँदैन भनेर भन्न सक्ने अवस्थामा छैनौँ। किनकि डिहाइड्रेशन ९निर्जलीकरण०को खतरा नानोप्लास्टिकको सम्भावित खतराभन्दा कयौं गुणा ठूलो हो।’

हालैका वर्षहरुमा खाद्य पदार्थमा माइक्रोप्लास्टिकको उपलब्धतालाई लिएर संसारभर नै चिन्ता बढेको छ। प्लास्टिकका यी कण नदी तथा महासागरदेखि उच्च पहाडमा जम्ने हिउँ (बरफ)मा पनि पाइएका छन्। यस्तै प्रकारले माइक्रोप्लास्टिक पिउने पानी र खानामा पुगिरहेको छ।

५ मिलिमिटरभन्दा पनि सानो टुक्रालाई माइक्रोप्लास्टिक भनिन्छ। यस्तै एक माइक्रोमिटर ९१ मिटर प्लास्टिकको अर्बौं टुक्रा०लाई नानोप्लास्टिक भनिन्छ। यी कणहरु यति साना हुन्छन् कि मानिसको पाचन तन्त्र र फोक्सोमा समेत प्रवेश गर्न सक्नछन्। पाचन तन्त्र र फोक्सोबाट नानोप्लास्टिकका कणहरुले रगतमा मिसिएर मस्तिष्क तथा हृदय समेत सबै अंगलाई प्रभावित गर्न सक्छन्।

प्लेसेन्टा (गर्भावस्थाको समयमा पाठेघरमा विकसित हुने अंग) बाट यी कणहरु गर्भमा रहेको बच्चको शरीरमा पनि पुग्न सक्छन्।

इकोसिस्टम र मानवीय स्वास्थ्यमा प्लास्टिकका यी कणहरुले कस्तोखाले असर पुर्‍याउँछन् भन्ने विषयमा अझे विस्तृत अध्ययन भएको छैन। यद्यपि सुरुवाती अध्ययनहरुबाट पत्ता लागेअनुसार प्लास्टिकका कणबाट मानिसमा ग्यास्ट्रिकको समस्याका साथै बच्चाहरु जन्मिँदा शारीरिक समस्याहरु देखिन सक्छन्।

प्रकाशित मिति:January 11, 2024