काठमाडौं महानगरले ४ हजारलाई साइबर सुरक्षा सम्बन्धी तीन महिने अनलाइन तालिम दिँदै

  Sampatti News Online

January 14, 2024

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चार हजार व्यक्तिलाई साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने भएको छ । माघ २ गतेदेखि महानगरले चार हजारलाई तीन महिनाको अनलाइन तालिम दिने भएको हो ।  ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य रहेको भन्दै २ माघबाट तालिम सुरु गर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेर तालिम दिने जनाएको छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार यो सहकार्यबाट पाँच करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ ।

उनका अनुसार साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ । ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइनेछ भने यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला यस्ता प्रणाली सञ्चालन हुने प्लेटफर्म, यस्ता प्लेटफर्महरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् । 

महानगरले दाबी गरेको अनुसार नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिनेछ ।

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन ।

झाले भने, ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छ । कहिलेकाही सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौं ।’

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइने झाले बताए । यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला जस्ता प्रणाली सञ्चालन हुने प्लेटर्फम, यस्ता प्लेटर्फमहरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् ।

यदी तपाई पनि काठमाडौं महानगरपालिकाको साइबर सुरक्षा तालिममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।

प्रकाशित मिति:January 14, 2024