भारतीय सेनाले मार्च १५ सम्म माल्दिभ्स छोड्नुपर्छ: मुइज्जु

  Sampatti News Online

January 15, 2024

एजेन्सी । माल्दिभ्सको मोहम्मद मुइज्जु सरकारले भारतीय सेनालाई मार्च १५ सम्ममा देश छोड्न भनेको छ । राष्ट्रपतिका मुख्य सचिव अब्दुल्लाह नाजिम इब्राहिमले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन माल्दिभ्स सरकारले भारतीय सरकारलाई भनेको समाचार माल्दिभ्सका सञ्चार माध्यममा छन् ।

दुवै देशको उच्चस्तरीय कोर ग्रुपको बैठकमा ती सेना फिर्ता गर्ने प्रक्रिया सुरु गर्न दुवै देश सहमत भएको माल्दिभ्सको विदेश मन्त्रालयले जनाएको छ । तर भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने भारतीय सेना फिर्ता गर्ने समयसीमाबारे केही उल्लेख छैन ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मालेमा उच्चस्तरीय कोर समूहको बैठक बसेको र बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाएको छ ।

इन्डिया आउटको नारा दिएर गत राष्ट्रपति चुनाव जितेका मोहम्मद मुइज्जुको पहिलो  प्राथमिकतामा भारतीय सेना फिर्ता गर्नु हो । १७ नोभेम्बरमा सत्ता सम्हाले लगत्तै मुइज्जुले भारतलाई सैनिक फिर्ता लैजान आग्रह गरेका थिए ।

लक्षद्वीपको मुद्दामा हालै भारत र माल्दिभ्सबीच मतभेद देखिएको थियो । माल्दिभ्स सरकारले प्रधानमन्त्री मोदीको लक्षद्वीप फोटोमा आपत्तिजनक टिप्पणी गर्ने मन्त्रीहरूलाई निलम्बन गरेको थियो। त्यसपछि केही भारतीय र कम्पनीहरूले माल्दिभ्सलाई बहिष्कार गर्ने कुरा गरेका थिए। मोहम्मद मुइज्जु एक दिनअघि चीनको भ्रमण सकेर माल्दिभ्स फर्किएका छन् ।

प्रकाशित मिति:January 15, 2024