चौधरीलाई घुस मुद्दामा सफाइ,  अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

  Sampatti News

January 15, 2024

डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख तथा सिडिई जितेन्द्रकुमार चौधरी गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई घुस लिएको मुद्दामा भने सफाइ दिएको छ।

विशेष अदालतले आइतबार उनीविरुद्धका दुईवटा मुद्दाको फैसला गर्दै घुस लिएको आरोपमा सफाइ दिएको छ भने अकुत सम्पत्ति आर्जनमा दोषी ठहर्‍याएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा जितेन्द्रविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित रामबहादुर थापा र रितेन्द्र थापको इजलासले चौधरीलाई गैरकानूनी सम्पत्ति आर्जनमा मात्र दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । 

प्रवक्ता कार्कीका अनुसार चौधरीले २ करोड ४४ लाख ९३ हजार ७ सय ६५ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको ठहर भएको छ । चौधरीले श्रीमती र छोराका नाममा सम्पत्ति जोडेको भन्दै जफत प्रयोजनका लागि उनीहरूलाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको थियो ।

स्रोत नखुलेको सम्पत्ति जफत हुने छ । चौधरीलाई हुने सजाय निर्धारणका लागि माघ १५ गतेलाई पेशी तोकिएको छ ।

प्रकाशित मिति:January 15, 2024