गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच भेटवार्ता , के के विषयमा भयाे छलफल ?

  Sampatti News

March 25, 2024

काठमाडौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेटवार्ता भएको छ ।

आज गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत हनान गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेकाे
लामिछानेको सचिवालयले जनाएको छ । उनीहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, विपिन जोशीको सुरक्षित नेपाल फिर्तालगायतका विविध विषयमा छलफल भएको थियो ।

जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै राजदूत गोदरले उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारका तर्फबाट राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे । राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनःमिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गरे ।

उनीहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार एवं सुदृढीकरणका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति:March 25, 2024