‘हेल्थ डेस्क’का कर्मचारी ६ महिनादेखि तलबविहीन

  Sampatti News

March 27, 2024

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् ।

कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरूलाई स्वास्थ्य निर्देशनालयले नियमितरुपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् ।

कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको बताए ।

पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका सबै सीमानाकामा गरी जम्मा २७ कर्मचारी छन् ।

त्रिनगर हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई सुरुको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिकाले संघीय सरकारको बजेटबाट तलब खुवाएको थियो । त्यसपछिको समयमा सङ्घबाट बजेट नआए पनि नगरपालिकाले आफ्नै बजेटबाट तलब खुवाएको थियो ।

कोरोना भाइरसको महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्तासमेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलबबाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ । विगतमा देखिएको कोरोनाको महामारीका समयदेखि प्रदेश सरकारले सीमानाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो ।

हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमुना जाँच हुने गरेको छ । यसबाहेक प्राथमिक उपचारको सेवाका साथै सीमामा अलपत्र परेको बेसहारा नागरिकको उद्धारको कामसमेत गर्ने गरिएको छ ।

प्रकाशित मिति:March 27, 2024