प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

  Sampatti News

March 27, 2024

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गए राति छलफल भएको छ। 

गएराति १० बजे प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।  प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको स्रोतको दाबी छ।  मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो। त्यसपश्चात कांग्रेसका अन्य नेता लिएर सभापति देउवा बालुवाटारमा प्रचण्डलाई भेट्न गएका हुन्।

भेटमा देउवाले आन्तरिक रुपमा गम्भीर छलफल नगरी गठबन्धन परिवर्तन गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए। नयाँ गठबन्धन बनेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक छलफल भएको हो। 

संसदीय समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) विधेयक पास गर्ने उद्देश्यले बोलाइएको बैठक तत्कालीन कानुन मन्त्री धनराज गुरुङले एक पटक पुन: प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै रोकेपछि प्रचण्ड असन्तुष्ट बनेका थिए।

लगत्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच ८ बुँदे सहमति गर्दै प्रचण्डले गत फागुन २१ गते नयाँ सत्ता समीकरण बनाएका थिए।

प्रकाशित मिति:March 27, 2024