नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको प्रजाति फेला

  Sampatti News

March 27, 2024

काठमाडौं । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को टिटिकेटिटि पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिकहरुले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको कुरा पुष्टि गरेका हुन् । उक्त केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार वैज्ञानिकहरुले गत कार्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रहरुमा गाइवस्तुको आहाराको लागि हरियो घाँसको रुपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो प्रजाति भेटिएको हो । उक्त स्थानका दुईवटा गहुँबारीबाट संकलित नमूनालाई ग्लोबल रष्ट रिसर्च सेन्टर डेन्मार्कको प्रयोगशालामा परीक्षण गर्दा टिटिकेटिटि नामक यूजी ९९ को प्रजाति देखा परेको बताइएको छ ।
यूजी ९९ को टिटिकेटिटि प्रजातिले अफ्रिकन देशहरुमा गहुँबालीमा करिब ८० प्रतिशत भन्दा बढी क्षति पु¥याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशहरुमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पु¥याउनसक्ने आँकलन नार्कका वैज्ञानिकहरुले गरिरहेका छन् ।
गहुँमा लाग्ने रोगहरुमध्ये सिन्दुरे प्रमुख रोग हो । यो तीन प्रकारको हुन्छः तराईमा खैरो, पहाडमा पहेंलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे रोग देखा पर्दछ । नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे तापनि करिब २३ वर्षअघि अफ्रिकाको युगाण्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो । त्यसपछि उक्त प्रजाति इथियोपिया, केन्या, सुडान, इरिट्रया, इजिप्ट हुँदै एसियाका इरान, यमन, ओमन, इराक, जोर्डन लगायतका देशमा फैलिएको देखिन्छ । यूजि ९९ लाई टिटिकेएसके नामबाट चिनिने र हालसम्म यसका १५ किसिमका व्युत्पन्न प्रजाति विकसित भइसकेका जनाइएको छ । ती १५ मध्ये टिटिकेटिटि नेपालमा पनि देखिएको हो ।
यो रोग पक्सिनिया ग्रामिनी ट्रिटिसी नामक ढुसीबाट लाग्ने र यो ढुसी हावाको माध्यमबाट सयौं किलामिटरसम्म फैलिने कुरा पुष्टि भैसकेकोले यो रोगलाई नेपालमा फैलिन नदिन रोगको वृहत् सर्वेक्षण, रोग अवरोधक जातको छनोट र रोग व्यवस्थापन प्रविधि पत्ता लगाउन अध्ययन अनुसध्ना गर्नु जरुरी रहेको कुरा वैज्ञानिकहरुले औंल्याएका छन् । केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार विजय, जिंक गहुँ २, बोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति, आदि जातहरुमा यो प्रजाति अवरोधी क्षमता छ । यी बाहेक अन्य अवरोधी जातहरुको विकास गरी समयमै रोगको व्यवस्थापनमा ध्यान दिनुपर्ने वैज्ञानिकहरुको भनाइ छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायले नेपालमा क्षेत्रफलको आधारमा धान र मकै पछि गहुँको स्थान रहेकोमा नेपालमा गहुँको क्षेत्रफल ९५ प्रतिशत भन्दा बढी नेपालमै अनुसन्धानबाट विकास गरिएका जातहरुले ढाकेका छन् । विगत ६० वर्षमा गहुँको क्षेत्रफल ७ गुणा, उत्पादन १५ गुण र उत्पादकत्व २ गुणाले बढेको अवस्थामा यस्ता रोगहरुको बेलैमा व्यवस्थापन गर्नसके उत्पादन अँझै बढाउन सकिने कुरा डा। उपाध्यायले बताए ।

प्रकाशित मिति:March 27, 2024