सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैन : गृहमन्त्री लामिछाने

  Sampatti News

March 27, 2024

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताए ।

‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’

प्रहरीकहाँ परेको जाहेरीमा पनि तथ्य नभएको कुरा प्रहरी महानिरीक्षक बसन्त कुँवरले स्पष्ट पारेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता नरहेको बताए । प्रहरीमा जाहेरी छ, सूचनाका रूपमा, त्यो दर्ता नभएको कुरा पनि छ, उनले भने ।

कांग्रेस पार्टी सरकारमा हुँदा र आफू प्रतिपक्षमा हुँदा नै प्रहरीमा जाहेरी परेको लामिछानेले स्मरण गराए । माननीयहरूको पार्टी नै सरकारमा हुँदा भएको हो । बात निस्किएपछि जवाफ त दिनुपर्ने होला । मलाई भोट हाल्ने मान्छेले ठगै होला भन्लान् फेरि, उनले भने, अनुसन्धान प्रहरीले गर्ने हो । मन्त्रीले अनुसन्धान गर्ने होइन । मन्त्रीले निर्देशन दिने होइन । म सरकारमा आउनुभन्दा धेरै अगाडिको कुरा, धेरै पहिलेको कुरा भएको हुो ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले पोखराको सूर्यदर्शन सहकारीका सम्बन्धमा ठाडो उजुरी परेको र त्यसमा रवि लामिछानेको नाम रहेको बताएका थिए । उनले त्यस उजुरीलाई पुष्टि गर्ने तथ्य नरहेको पनि राज्यव्यवस्था तथा सुशासन समितिलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति:March 27, 2024