नेप्सेमा दोहोरो अंकको गिरावटसंगै कारोबार रकम भने बढ्यो

  Sampatti News Online

March 31, 2024

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन झिनो अंकको सुधार देखिएको नेप्से आज ०.८५ प्रतिशतले घटेको हो।

आइतबार नेप्से परिसूचक १७.३० अंक घटेर २०१८.३३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६७ हजार ४४ पटकको कारोबारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधित १० प्रतिशत कमाएका छन्‌। सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य आज ३०.४० रुपैयाँले बढेर ३३४.४० रुपैयाँ पुगेको छ। पछिल्ला कारोबार दिनमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको शेयर यस दिन भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य १०८ रुपैयाँ २० पैसा घटेर ९७४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। सर्वोत्तम सिमेन्टका लगानीकर्ताले आज शेयरबजारमा सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन्‌।

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको साढे १२ करोडको शेयर कारोबार भएको छ भ ने शिवम् सिमेन्टको साढे ११ करोडको शेयर किनबेच भएको छ।

प्रकाशित मिति:March 31, 2024