गरिबी नहटाएसम्म आफूले राजनीतिबाट सन्यास नलिने : ओली

  Sampatti News Online

April 5, 2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अगाडि बढाएर गरिबी नहटाएसम्म आफूले राजनीतिबाट सन्यास नलिने बताएका छन् । उनले एमालेविनाको नेपाल र केपी ओलीविनाको एमाले भन्नेप्रति दया लाग्ने टिप्पणी गरे । एमाले कास्कीको ११ औं जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै ओलीले अरू २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका हुन् ।

‘नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ । तर पार्टी आफ्नाआफ्ना छन् । पार्टीका आफ्नाआफ्ना नीति छन् । पार्टीका आ-आफ्ना उद्देश्य छन् । आफ्ना उद्देश्य नछोडिकन, आफ्ना नीति नछोडिकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ,’ अध्यक्ष ओलीले अघि भने, ‘कसैले एमाले बिनाको नेपाल भने त कसैले केपी ओलीबिनाको नेपाल भनेर सोचे । तर अब त्यस्तो नसोचे पनि हुन्छ- मैले पोहोर परार भनेको थिएँ, जुँगा अलि काला- काला हुन थाले भनेर । मेरो कपाल सबै झरेको थियो, अहिले पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको हो । अझै २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ । नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ ।’

‘पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता (झलनाथ)ले हैसियत खोज्दै हिँडेको थाहा छ, माधव नेपालले मलाई के हुन्छ भन्नुहुन्छ ?’ ओलीले भने, ‘जेलमा रहेका नेतालाई ल्याएर जनताले सांसद, प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाइसकेपछि मलाई के चाहियो ? सकेजति काम गर्छु, छाडेपछि वरिष्ठ नेता भनेर छेउमै बस्ने रूचि छैन ।’ 

उनले सबैले सरापे पनि आफ्नो नेतृत्वमा एमाले झन् बलियो बन्दै गइरहेको टिप्पणी गरे । उनले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी अहिलेदेखि संगठन निर्माणमा परिचालित हुन समेत नेता कार्यकर्तालाई निर्देशन दिए ।

नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको र पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:April 5, 2024