गुणस्तरीय सामान उत्पादन गर्नोस्, मेलाबाट उत्पादनको प्रवर्धन र बजार हामी दिन्छौँ : उपप्रमुख डंगोल

  Sampatti News

April 10, 2024

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ । सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर कार्यक्रम थालनी गरेको हो । त्यस अवसरमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, गुणस्तरीय स्वदेशी उत्पादनले आयात विस्थापन गर्दै लैजान सानासाना उद्यम विकास कार्यक्रम थालिएको जानकारी दिइन् ।

संख्यात्मक रुपमा यस अघि धेरै तालिम भए । ती तालिमबाट थोरै मात्र उद्यमी भए । बाँकीले भेटेसम्म तालिम लिए तर सिपयुक्त हुने क्षमता विकास गरेनन् । विगत अभ्यासका बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘एक वडा, एक नमूना उद्यम कार्यक्रममा जुन वडामा जुन उद्यम छानिएको छ, त्यही उद्यमको तालिम दिएर सिपयुक्त बनाउँछौँ । उद्यमी बन्न दृढ इच्छा भएकालाई मात्र तालिम दिन्छौँ । उत्पादनमा रुपान्तरण हुन नसक्ने खालका तालिम रोक्छौँ । तालिम लिएकालाई उद्यमी बनाउँछौँ ।’ गुणस्तरीय सामान उत्पादन भएपछि ‘नेपाल उत्पादन मेला’ गर्ने, त्यसभित्र पनि ‘काठमाडौँ उत्पादन’को छुट्टै स्थान बनाउने र वडाका खाली ठाउँहरुमा मेला गरेर स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने योजना रहेको उहाँको भनाइ थियो ।

उद्यमशील विकासमा महानगरपालिकाले अहिलेसम्म हासिल गरेका उपलब्धी र सिकाइलाई संस्थागत गर्दै समस्यालाई सिकाइका रुपमा विकास गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताउनुभयो । ‘गुणस्तरीय नेपाली उत्पादन विदेशमा निर्यात हुन्छ । काठमाडौँका वडाबाट उत्पादन भएका उत्पादनले पनि यो क्षमता राख्छन् । प्रयास गरौँ ।’

‘सिप सानो हुँदैन । सानो उद्यमबाट जीवन यापन गर्न पर्याप्त आय प्राप्त भएको हामीले तालिम दिएका महिलाहरुको अभ्यास भएको छ ।’ सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘ग्रामीण क्षेत्रका महिलाहरु सबै काम सकेर उद्यम गरिरहेका हुन्छन् । काठमाडौँका महिलाहरुले गृहस्थी जीवनसँगै उद्यमी बन्न सक्छन् ।’ वडा नं. २ का अध्यक्ष एवं सामाजिक समितिका सदस्य राजेन्द्रकुमार श्रेष्ठले, धेरै प्रयासपछि तालिमबाट प्राप्त सिप उद्यममा रुपान्तरण हुन लागेको बताए ।

यस बर्षका लागि उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कार्यक्रम सञ्चालन गर्नेछौँ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले, महिलासँगै पुरुषहरु पनि कार्यक्रम सहभागी हुन सक्ने बताए ।

कुन वडामा कुन उद्यम ?

वडाहरुले स्थानीय उद्यमीहरुको रुचि, यसअघि भइरहेका अभ्यास, कच्चा पदार्थको उपलब्धताजस्ता आधारमा विभिन्न उत्पादन छानेका छन् । यीमध्ये धेरै वडाले मस्यौरा बनाउने, तितौरा बनाउने, अचार बनाउने उद्यम छानेका छन् । विभागका अनुसार अहिले १५ वटा वडाका लागि एक एक वटा उद्यम छानिएका छन् । वडा नं. ५ मा प्रविधि हस्तान्तरण हुने भएको छ । यस वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरु उत्पादन हुन थालेपछि यसको प्रवर्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गर्न लागिएको हो ।

१) वडा नं. १ – गुन्द्रुक र मस्यौरा
२) वडा नं. २ – मस्यौरा र तितौरा
३) वडा नं. ३ – फेल्टको सामान बनाउने
४) वडा नं. ४ – फेल्टको सामान बनाउने
५) वडा नं. ७ – क्रिष्टल तथा पोतेको गहना बनाउने
६) वडा नं. ८ – दुना टपरी र रुद्राक्षको ढक्की बनाउने
७) वडा नं. ९ – रुद्राक्षको माला धुप बनाउने
८) वडा नं. १० — मस्यौरा र अचार बनाउने
९) वडा नं. १२ – सुकुल बनाउने
१०) वडा नं. १६ – काष्ठकला
११) वडा नं. २१ – कटाँ की मूर्ति कुँद्ने
१२) वडा नं. २२ – जुत्ता बनाउने
१३) वडा नं. २४ – व्याग बनाउने
१४) वडा नं. ३० – गुन्द्रुक मस्यौरा बनाउने
१५) वडा नं. ३२ – अचार बनाउने

‘एक वडा एक उद्यम, आफ्नै सिप आफ्नै मौलिकपन, आत्मनिर्भर उद्यमी बन्न, हाम्रै लगानी हाम्रै श्रम’ नारा राखेर कार्यक्रम चलाउन थालेको हो ।

प्रकाशित मिति:April 10, 2024