२३ किलो चरेशसहित एक जना नियन्त्रणमा

  Sampatti News Online

April 16, 2024

बर्दिया । सशस्त्र प्रहरीले बर्दियाको सीमा इलाकाबाट करिब २३ किलो चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नयाब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ५ स्थायी वतन भएका वर्ष ३४ का बम बहादुर पुन रहेका छन् ।

मङ्गलबार बिहान ३ः४५ बजे बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहास्थित सीमा इलाकामा शङ्कास्पद हर्कत गरिरहेका पुनलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथमा रहेको दुई वटा झोलाबाट पलास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागू औषध चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले बरामद गरेको हो ।

पुन उक्त समानसहित नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका हुन् । पुनलाई बरामद सामानसहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रकाशित मिति:April 16, 2024