एकीकृत समाजवादीले लियो चौधरीलाई दिएको समर्थन फिर्ता

  Sampatti News Online

April 16, 2024

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले फिर्ता लिएको छ ।

मङ्गलबार एकीकृत समाजवादी, सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेश गरेका नाउपाको रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीलाई आफूहरूको समर्थन नरहेको पत्र बुझाएका हुन् ।

यस अघी लक्ष्मणकिशोर चौधरीलाई एकीकृत समाजवादी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नाउपाको रेशम चौधरी पक्षको वैकल्पिक समर्थन दिएको थियो ।

जबकि गठबन्धनका तर्फबाट नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षका सांसद कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । केन्द्रीय गठबन्धनमा सत्ता साझेदार दलको रूपमा रहेको एकीकृत समाजवादीले कैलाश चौधरीलाई समर्थन नगरी लक्ष्मणकिशोर चौधरीलाई गरेको थियो ।

एकीकृत समाजवादीले सुदूरपश्चिममा पहिलो चरणमा नै मुख्यमन्त्री नपाए केन्द्रीय गठबन्धनसमेत धरापमा पर्ने चेतावनी दिएको थियो । यसपछि यता काठमाडौंमा मुख्यमन्त्री दिनेबारे छलफल भएको थियो । यसपछि एकीकृत समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई आफूहरूको समर्थन नरेहको पत्र प्रदेश प्रमुख मियाँलाई थमाएको हो ।

यससँगै अब प्रदेशमा मुख्यमन्त्री नियुक्तिको कोर्स फेरिएको छ । यसअघि एउटै दलबाट दुईदुई सांसदले ‘दलका सबै सांसद मेरो समर्थनमा छन्’ भनेर मुख्यमन्त्रीका लागि दाबी पेश गर्दा प्रदेश प्रमुख मियाँलाई सकस भएको थियो । एकीकृत समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई समर्थन नभएको स्पष्ट पारेसँगै अन्तर्दलीय अन्योलता हटेको छ ।

प्रकाशित मिति:April 16, 2024