गृहमन्त्री मौन, परराष्ट्रले मलेसियन सरकारलाई पठायो कूटनीतिक नोट

  Sampatti News Online

April 17, 2024

काठमाडौँ । सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु(जीवी) राईको विषयबारे मलेसियन सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाउने तयारी भएको गृहका एक अधिकारीले बताए ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट रेड नोटिस नै जारी भएका राईलाई नेपाल ल्याउने तयारी अनुसार पत्राचार गरिन लागिएको ती अधिकारीको भनाई छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

एका तर्फ सर्वत्र आलोचना हुँदा पनि जीबी राईबारे गृहमन्त्री मौन छ भन्ने बजारमा हल्ला चलेको छ। प्रतिपक्षमा रहँदा जिबी राईलाई पक्राउ गर्न नसकेको भनेर रविले संसद्मा आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्ति गृहमन्त्रीको पदमा पुग्दा लामिछानेलाई गल्पासो बनेको छ ।

लोकतान्त्रिक पद्धति अबलम्बन गर्ने संसारभरका देशमा स्वार्थको द्वन्द्व हुने जिम्मेवारीमा कसैलाई पठाइँदैन । देशको सबैभन्दा महत्वपूर्ण मानिने गृह मन्त्रालयमा स्वार्थको द्वन्द्व हाबी भएको प्रष्टसँग देख्न सकिन्छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालय मातहत रहेको नेपाल प्रहरीका प्रमुख वसन्त कुँवरले समेत गृहमन्त्री लामिछानेको बचाउ गरे । आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गर्ने लामिछानेले अन्ततः गृह मन्त्रालय नै रोजे । आफूले गरेको अपराध कर्मको ढाकछोपका लागि उनले स्वार्थको द्वन्द्व बाझिने मन्त्रालय रोजेको धेरैको बुझाइ छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट जिबी राईविरुद्ध रेडकर्नर नोटिस जारी भइसकेको छ । तर, पनि उनी आजसम्म पक्राउ परेका छैनन् । जिबी राई पक्राउ परे गृहमन्त्री लामिछानेको सहकारी काण्ड छताछुल्ल हुने धेरैको बुझाइ छ । गृह मन्त्रालय जिबी राईको बारेमा मौन बस्नुले पनि आशंकामा मलजल पुर्याएको छ ।

जीबीबारे गृह मौन रहँदा प्रहरी प्रधान कार्यालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ । मलेसियामा लुकेर बसेका भनिएका राईलाई पक्राउ गरेर सुपुर्दगी गरिदिन आग्रह गर्दै परराष्ट्रले मलेसियन सरकारलाई कूटनीतिक नोट पठाएको हो ।

प्रकाशित मिति:April 17, 2024