एसीसी प्रिमियर कपः नेपाल यूएईसँग ६ विकेटले पराजित

  Sampatti News Online

April 19, 2024

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायो । साविक विजेता नेपाललाई हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । योसँगै एसिया कपमा भारत, पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त भएको छ ।

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायो । नेपालका सन्दीप जोराले अर्धशतक बनाए । सन्दीप ४० बलमा ५० रन बनाएर आउट भए । यस्तै गुल्सन झाले २०, करण केसीले १७ रन बनाए । यसैगरी कुशल भुर्तेल पहिलो बलमै आउट भए । अन्य ५ जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट लिए ।

एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । अब नेपालले तेस्रो स्थानका लागि भोलि खेल्नेछ । फाइनल खेल आइतवार हुनेछ ।

प्रकाशित मिति:April 19, 2024