काठमाडौँ महानगरमा कार्यान्वयनमा आयो निःशुल्क उपचार सेवा

  Sampatti News

April 19, 2024

काठमाडौँ । अस्पतालहरूले १० प्रतिशत उपचार लक्षित वर्गलाई निःशुल्क गर्नुपर्ने व्यवस्था काठमाडौँ महानगरपालिकामा कार्यान्वयनमा आएको छ ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डको दफा ७० (घ) मा उल्लेख भएको ‘अस्पतालमा उपचारको लागि आउने विपन्न बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार अनिवार्य रूपमा गराउनुपर्नेछ,’ भन्ने व्यवस्था काठमाडौँमा लागू भएसँगै लक्षित वर्गका बिरामीले निःशुल्क उपचार पाउन थालेका हुन् ।

महानगरपालिकाले २ जना बेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीको निःशुल्क उपचार गरेको छ । उनीहरूलाई महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरूबाट उपचार सेवा दिइएको बताइएको छ ।

उनीहरूमध्ये १५ जनाको मिर्गौला डायलायसिस भइरहेको छ । उपचार सेवा लिँदालिँदै २ जना बिरामीको मृत्यु भएको छ । १२ जना डिस्चार्ज भएका छन् । १ जनालाई अर्को अस्पतालमा रेफर गरिएको छ । ३ जना अहिले पनि उपचाररत छन् ।

८ जनालाई फेमिली मेडिसिन सेवा दिइएको महानगरले जनाएको छ । ३ जनाले दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी)ं २ जनाले सर्जरी (शल्यक्रिया), २ जनाले आकस्मिक सेवा, १ जनाले स्त्री तथा प्रसूति रोग सेवा, १ जनाले पेट सम्बन्धी र १ जनाले आँखाको उपचार सेवा लिएका छन् । सर्जरी गर्ने बिरामीमध्ये एक जनाको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया र १ जनाको हर्नियाको अपरेसन भएको छ ।

उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च हेर्दा सबैभन्दा कम खर्च आँखाको उपचारका लागि २ हजार ५ सय रुपैयाँ भएको देखिन्छ । धेरै खर्च लागेको उपचार २ लाख ७४ हजार रुपैयाँ बराबरको छ । यो खर्च अस्पतालहरूले व्यवहारेका छन् ।

बिरामीहरूमध्ये ६ जनाले पिपल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट, ३ जनाले काठमाडौं मोडेल अस्पतालबाट, २ जनाले काठमाडौँ मेडिकल कलेजबाट उपचार लिएका छन् । यस्तै ब्लु क्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल र क्षेत्रपाटी सामुदायिक अस्पतालबाट १/१ जना बिरामीले सेवा लिएका छन् ।

प्रकाशित मिति:April 19, 2024