नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक जेल चलान

  Sampatti News

April 25, 2024

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अवैध सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको दाबी थियो ।

विशेष अदालतको आदेशपछि पौडेललाई डिल्लीबजार कारागारमा लगिएको नेपाल प्रहरी स्रोतले जनाएको छ । पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति:April 25, 2024