फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्न अनुरोध

  Sampatti News Online

April 27, 2024

काठमाण्डौ । निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पैसा भुक्तानी गर्दा वा पैसा लिँदा निःशुल्क चल्ने वाईफाईबाट असुरक्षित हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । वित्तीय कारोबार गर्दा संस्थागत वा व्यक्तिगत दर्ता भएका सुरक्षित इन्टरनेट प्रयोग गर्नुपर्ने उनले बताए ।

सार्वजनिक ठाउँमा चल्ने इन्टरनेटको माध्यमबाट डिजिटल रुपमा वित्तीय कारोबार गर्दा अरुले ओटीपी, पासवर्ड, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण प्राप्त गर्ने सक्ने जोखिम हुन सक्छ । शपिङ मल, होटेल, एयरपोर्ट, रेस्टुरेन्ट, कफी शप, सार्वजनिक यातायात आदि ठाउँमा हुने आधिकारिक वाईफाईको नाम पहिचान गरी वाईफाईसँग दिइएको पासवर्ड प्रयोग गरेर मात्र इन्टरनेट चलाउन राष्ट्र बैंकले भनेको छ ।

विभिन्न ह्याकरहरुले पनि उस्तै देखिने फ्री पब्लिक वाईफाई बनाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन राष्ट्र बैंकले भनेको छ । कुनै सार्वजनिक वाईफाईसँग जोडिदा आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदिको फाइल शेयरिङ अप्सन बन्द गर्नसमेत राष्ट्र बैंकको आग्रह छ ।

पुराना तथा म्याद गुज्रिएका उपकरणहरु जोखिमयुक्त हुनसक्ने भएकाले त्यस्ता उपकरणमा सार्वजनिक वाईफाई नचलाउन पनि राष्ट्रबैंकका प्रवक्ता भट्टले अनुरोध गरेको छ ।

प्रकाशित मिति:April 27, 2024