नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर र शाखा अधिकृत पक्राउ

  Sampatti News Online

April 29, 2024

काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो ।

देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् ।

गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो ।अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको भेटिएको थियो । तीबाहेक प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूमा गडबड भएको भेटिएपछि जारी गर्ने तयारीमा रहेका करिब २३ हजार लाइसेन्स रोकिएका थिए ।

देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो । त्यो काममा विभागका भट्टको पनि मिलेमतो देखिएको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति:April 29, 2024