युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न राष्ट्रपति पुटिनको आदेश

  Sampatti News

May 7, 2024

काठमाडौं– रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिएका छन् ।

उक्त अभ्यास ‘निकट भविष्य’ मा गरिने र यसमा वायुसेना, नौसेना र युक्रेन नजिकै तैनाथ सेना संलग्न हुने रुसको रक्षा मन्त्रालयले बताएको छ । फेब्रुअरीमा पुटिनले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा आणविक युद्धको ‘वास्तविक’ जोखिम रहेको चेतावनी दिएर आफ्नो आणविक बयानबाजीलाई बढाएको थियो ।

यसैबीच उक्त अभ्यास युक्रेनमा सेना पठाएकामा पश्चिमी मुलुकहरूको टिप्पणीको जवाफ भएको क्रेमलिनले बताएको छ । रक्षा मन्त्रालयले अभ्यासको उद्देश्य ‘केही पश्चिमी अधिकारीहरूको धम्कीहरू’ को सामना गर्दै रुसी क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु रहेको बताएको छ ।

युक्रेनसँग जोडिएको र रुसले कब्जा गरेको युक्रेनी क्षेत्र समेटेको दक्षिणी सैन्य जिल्लाका सेनाले अभ्यासमा भाग लिने मन्त्रालयले उल्लेख गरेको छ ।

युक्रेनी सेना रुससँग लड्नका लागि पश्चिमी सैन्य सहायतामा निर्भर छ तर नाटोले युक्रेनमा सेना नपठाउने बताएको छ ।

प्रकाशित मिति:May 7, 2024