चट्याङ लागेर सुस्तामा एक महिलाको मृत्यु, बझाङमा चार जना घाइते

  Sampatti News Online

May 8, 2024

काठमाण्डौ । नवलपरासीको सुस्ता गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका–५ तरैनी गाउँकी २८ वर्षीया पुनम कुशवाहाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । हिजो हावाहुरीसँगै परेको चट्याङ लागेर पुनमको मृत्यु भएको हो ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । हिजो बेलुका आइते रावतको घरमा चट्याङ लाग्दा बेलुदेवी खड्का, लुरी खुड्का, दुदा रावत र एकिन्द्र खड्का घाइते भएका हुन् । घाइतेको गडराय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।

प्रकाशित मिति:May 8, 2024