ब्रोकर कमिसन १० प्रतिशत घटाउने सेबोनको निर्णय

  Sampatti News Online

May 8, 2024

काठमाडौँ । दोस्रो बजारमा सेयर किनबेच गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने शुल्क (कमिसन) घटेको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले आइतबार ब्रोकर शुल्क घटाउने निर्णय गरेको हो । नयाँ व्यवस्था जेठ १ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ । 

समितिको बैठकले कमिसन घटाउने निर्णय गरे पनि उक्त निर्णयमा सबै सञ्चालकको हस्ताक्षर हुन भने बाँकी रहेको एक सञ्चालकले बताए ।

२०८० जेठमा बोर्डका तत्कालीन अध्यक्षरमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन समिति गठन गरेका थिए । बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ संयोजक रहेको उक्त समितिले ब्रोकर कमिसन १० प्रतिशत घटाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो ।

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए ।

हाल प्रतिकारोबार रकमका आधारमा ब्रोकर कमिसन लाग्दै आएको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा शुल्क हालको भन्दा १० प्रतिशत कम हुनेछ । हाल ५० हजारसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३४, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० र एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन छ ।

नयाँ व्यवस्थाअनुसार ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३१, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.२७ र १ करोडभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत कायम हुनेछ ।

प्रकाशित मिति:May 8, 2024