कृषकलाई क्षतिपूर्ति उपलब्ध गराइने छ–मन्त्री थापा

  Sampatti News

September 29, 2020

काठमाडौँ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बाढी पहिराका कारण कृषि एवम् पशुपालनमा भएको क्षतिको राहत उपलब्ध गराइने बताउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यस अघि शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिराका कारण धेरै कृषकहरू समस्यामा परेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र सहित सम्बद्ध निकायबाट कृषि तथा पशुपालनमा पारेको क्षतिको अनुगमन भै विवरण सङ्कलन भएको बताउँदै उहाँले मापदण्ड एवम् कार्यविधिका साथै बजेटको परिधिभित्र रही क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गर्नुभयो । मन्त्रालयले कामको प्रभावकारिताका लागि मन्त्रालय अन्तर्गतका पदाधिकारीसँग कार्यसम्पादन सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । बैठकमा मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले महालेखा परीक्षकको कार्यलयको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो ।
यसअघि विधायन समितिका दफावार छलफलका लागि पठाइएका गण्डकी प्रदेशमा खेलकूदको विकास गर्ने सम्बन्धमा बनेको विधेयक र गण्डकी प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिको प्रतिवेदन सहित विधायन समितिका सदस्य कृष्णचन्द्र नेपालीले सभामा प्रस्तुत गर्नुभयो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू आशा कोइराला, भागवतप्रसाद मल्ल र विष्णुप्रसाद लामिछाने एवम् विशेष समयमा इन्द्रलाल सापकोटा, डोबाटे विश्वकर्मा, खिमविक्रम शाही, कृष्ण थापा, राजीव पहारी, मणिभद्र कँडेल, दीपक कोइराला, विनोद केसी र हरिशरण आचार्यले समसामयिक विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति:September 29, 2020